आसाममा डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ जनवरी ७ मा सकिएको छ । १२ दिन सम्म चलेको फेस्टिभलको अन्तिम दिन नेपालबाट आसाम पुगेका गायक प्रमोद खरेलले दमदार प्रस्तुति दिएका थिए ।  डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट नै आयोजना भएको कार्यक्रम हो । उक्त कार्यक्रममा एसियाका लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने छ । यो कार्यक्रममा बलिउडबाट विशाल शेखर, नीति मोहन, मिका सिंहले प्रस्तुति दिएका छन् । प्रमोद नेपालबाट सहभागी हुने पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको हो ।  उनी आफ्नै ब्यान्ड सहित आसाम पुगेका थिए । प्रमोदले आफ्नो हिट गीतदेखि पुराना गीतहरू कार्यक्रममा गाएका थिए । प्रमोदलाई गायिका मिना निरौलाले साथ दिएकी थिइन् । प्रमोदले करिब २ घण्टासम्म गीत गाएका थिए । ३ लाख दर्शकको अगाडि प्रमोदले आफ्नो प्रस्तुति दिएका थिए । प्रमोदले आसामलाई मेरो मामाघर भनेपछि ‘भान्जा भान्जा’ भन्दै धेरैले हुटिङ गरेका थिए । प्रमोदले फेस्टिभलमा नेपालले आयोजना गरेको ‘भिजिट नेपाल २०२०’को विषयमा बोलेका छन् । उनी भन्छन्, 'दर्शकलाई नेपाल आउन अनुरोध गर्‍यौँ । आयोजकलाई हामीले नेपाली टोपी लगाइदिएर नेपाल घुम्न आमन्त्रण गरेका छौँ' ।