फिल्म ‘हर्न ओके प्लिज’को एउटा गीतको सुटिङको क्रममा आफूलाई अभिनेता नाना पाटेकरले यौन उत्पीडन गरेको आरोप अभिनेत्री तनुश्री दत्ताले लगाएकी थिइन् । सेक्सुअल ह्यारेसमेन्टको मुद्दामा १७ जनवरीबाट अदालतमा सुनवाई सुरु हुँदै छ । यसका लागि तनुश्री अमेरिकाबाट मुम्बई फर्किसकेकी छन् । उनले नानालाई शान्तिसँग बाँच्न र मर्न नदिने बताएकी छन् । एकपछि अर्को केस खुलाउँदै जाने उनी बताएकी छिन् । १७ जनवरीमा तनुश्री आफ्नो केस लिएर अदालतमा हाजिर हुनेछिन् । उनले आफ्नो करिअर खराब गर्नेलाई सजाय नमिले सम्म नछाड्ने अडान लिएकी छिन् ।

आफूले पाएको पिडा बारे बोल्दै भनेकी छिन्, 'म एक सानो सहरबाट बलिउडमा आएको थिएँ । बलिउड मेरो सपना थियो, दुनियाँ थियो । यहाँ मलाई काम दिनका लागि मेरो कोही गड फादर, ग्रान्ड फादर वा ब्वाईफ्रेण्ड थिएन । कडा मिहिनेतबाट आफ्नो सानो स्थान बनाएको थिएँ ।' करिअरको सफल बाटोमा हिँडिरहेका बेला केही वर्ष काम गरेपछि विवाह गरेर घरजम बसाउने अभिनेत्री तनुश्रीले सोच बनाएकी थिइन् । तर यस्ता उत्पीडनको कारण आफ्नो करिअर र व्यक्तिगत जीवन तहसनहस भएको बताएकी छिन् । आफू लड्दा लड्दै थाके पनि नानालाई सजाय दिलाएरै छोड्ने अडान लिएकी छिन् ।