निर्माणाधीन चलचित्र ‘हिजो आजका कुरा’को एक गीतमा लगभग दुई दर्जन कलाकारलाई देख्न पाइने भएको छ । छायाङ्कन भइरहेको गीत ‘ए जदौ माया जदौ’ बोलको गीत शुक्रवार वसुन्धरा स्थित पानस बैंक्वेटमा फिल्ममा समावेश एक गीत भिडियोको छायाङ्कन भइरहेको छ । रामकृष्ण ढकाल र मेलिना राईको स्वर, दीपक शर्माको सङ्गीत, आनन्द अधिकारीको शब्द रहेको गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हास्य कलाकारद्धय जितु नेपाल, केदार घिमिरेदेखि नायिका नम्रता श्रेष्ठ, सङ्गीतकार शम्भुजित बास्कोटा, कलाकार गौरी मल्ल, निर्देशक दिनेश डिसी, नायिका जेविका कार्की लगायत देखिने छन् ।
साथमा गायक नवीन के भट्टराईले आफू पनि उक्त गीतमा अतिथि रहेको जानकारी दिए । उनले ट्विटरमा फोटो पोस्ट गर्दै लेखेका छन्, 'फिल्म हिजो आजका कुराको छांयाकनको क्रममा ।' नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’कै नाममा यस चलचित्र बन्न लागेको हो। कलाकार सन्तोष पन्तको छोरा साकार पन्तले यसको निर्देशन गर्दै छन् ।
चलचित्रमा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहनेछ । ‘हिजो आजका कुरा’ वैशाख २० गते देखि प्रदर्शनमा आउनेछ ।