राजबल्लभ कोइराला र यूना उप्रेतीको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो सिरिजको निर्माण घोषणा भएको छ । रिलिजको १२ वर्ष पछि निर्माण कम्पनी गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा सिनेमा घोषणा गरेको छ । चलचित्रको निर्माण घोषणा भए पनि कलाकारको बारेमा निर्माण टिमले केही बोलेको छैन । तर 'पर्खी बसे २' मा अहिलेका निकै रुचाइएको र डिमाण्ड भएका पूजा शर्मा, आकाश श्रेष्ठ र पल शाह मुख्य भूमिकामा रहने खबर चलचित्र वृत्तमा बाहिरिएको छ । गोप्य श्रोतका अनुसार पूजा र आकाशले चलचित्रको वान लाइन स्टोरी सुनिसकेका छन् र कथा पनि मन पराइसकेका छन् । यी तीन कलाकार काम गर्न राजी भएमा पहिलो सिरिजका राजबल्लभ कोइराला र निखिल उप्रेती र अभिनेत्री युना उप्रेतीको ठाउँमा देखिने सम्भावना रहेको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दै छन् भने कथा पनि उनकै रहेको छ ।