विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ ले हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ । चलचित्रको थिम अनुसार घोषणा गरिएको यो प्रतियोगितामा सहभागी हुन चाहनेले कमेडी हाउभाउमा खिचिएको सेल्फी ‘हाम्रो कम्युनिटी’ नामक ग्रुपमा पोस्ट गर्नुपर्ने छ । सेल्फी खिच्दा विभिन्न मेकअपको पनि प्रयोग गर्न सक्ने तर यो नै अनिवार्य नभएको निर्माता सुवास थापाले जानकारी दिएका छन् । इच्छुकले माघ ५ देखि माघ २० सम्म यो प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगीताका विजेतालाई कलाकार अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृत्ति र अन्य १० जनालाई प्रिमियरको २ वटा पास दिइने छ ।
माघ २४ गते रिलिज हुने सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् । आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’को जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ । दुनियाँ हँसाउने हास्य कलाकारको दुखद भोगाइ प्रस्तुत गरिएको चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।