अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन सुरु भएको छ । माघे सङ्क्रान्तिको अवसर पारी बुधवार झापाको बिर्तामोडबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो । सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समूह परिवर्तन थिएटरका कलाकारको अभिनय रहने छ । कमेडी जनरामा निर्माण हुने चलचित्र कमेडी जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण छायाङ्कन बिर्तामोड र इलाममा गरिने छ । निर्माण टिमले ३५ दिनको छायाङ्कन सेड्युल तयार पारेको छ । बिर्तामोड आसपासको प्राकृतिक सुन्दरता र आफ्नो चलचित्रको कथाको लागि उपयुक्त हुने भएकोले नै यहाँ छायाङ्कन गर्न लागिएको निर्माता पौडेलले जनाएका छन् ।

यस्तै कलाकार सौगात मल्ले आफूलाई अहिले सम्मकै भिन्न अवतारमा चलचित्रमा देख्न पाइने जनाए । अहिले सम्म गरेका भन्दा नितान्त फरक भूमिका भएको भन्दै उनले चलचित्रको स्क्रिप्टले आफूलाई निकै तानेको बताएका छन् । रञ्जित रौनियारले निर्देशन गर्ने चलचित्रलाई गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण गर्ने छ । उद्धव पौडेल प्रस्तुत कर्ता रहेको चलचित्रका निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजु विक्रम थापाको छायाङ्कन, निर्देशक रञ्जितकै कथा, शैलेश कँडेल क्षेत्रीको पटकथा र संवाद, शम्भुजित बास्कोटा र निलेश सिंहको सङ्गीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।