मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा' आगामी महा शिवरात्रिको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको छ । चलचित्रको प्रचार प्रसार सामाग्रीको स्वरूप ट्रेलर सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रले आमा-छोरीको कथा भन्छ । नेपाली समाजमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ तर यस चलनलाई चुनौती दिँदै छोरीले पनि आमा बुवाको अन्तिम संस्कार गरेको उदाहरण केही देखिन थालेका छन् । यसै विषय वस्तुमा रहेर चलचित्र बनेको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको विदेशमा माग बढेको छ । यसैबिच चलचित्रको अस्ट्रेलिया र अमेरिकाको राइट्स निर्माण टिमले महँगोमा बिक्री गरेको छ ।

निर्देशक दीपेन्द्र के. खनालले चलचित्र नेपालमा प्रदर्शन भएको दिन नै अस्ट्रेलिया र अमेरिकामा एकसाथ प्रदर्शन हुने जानकारी दिएका छन् । यसै गरी अन्य देशका लागी पनि विभिन्न कम्पनीहरू सँग कुरा भइरहेको बताइएको छ । चलचित्रमा मिथिला र सुरक्षाका साथमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ । 'आमा'लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् साथै सह-निर्मातामा सन्तोष अधिकारी हुन् ।