एमटीभी रोडिज २०१९ मा फाइनलिस्ट बन्न सफल नेपाली युवा बिधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिजको तेस्रो सिजनमा देखिने भएका छन् । हरेक सोमबार राती ८ बजे प्रसारण भइरहेको हिमालय रोडिजको तेस्रो सिजन अन्तर्गत अडिसन राउन्ड सकिएको छ । फाइनलिस्ट नेपाली युवा विधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिज सिजन ३ को आगामी श्रृङ्खलमा देखिने भएका हुन् । काठमाडौँ, नेपालगन्ज, पोखरा, चितवन र धरानमा भएका अडिसनमार्फत झन्डै ४० जना प्रतिस्पर्धी कलिङ राउन्डका लागि छानिएका छन् । कलिङ राउन्डको एपिसोडमा रियल लाइफ जोडीसमेत रहेका विधान र भार्गसेतु अतिथिका रूपमा सहभागी हुन लागेको निर्माण टिम सम्बद्ध स्रोतले जनाएको छ । २०१६ मा लद्दाख घुम्न जाँदा मृत्युको मुखमा पुगेका एक पर्यटकलाई बचाउन सफल भएका कारण रोडिज प्रतिस्पर्धीका रूपमा छानिएका बिहान वर्ष प्रसारण भएको एमटीभी रोडिजमा टाइटल दाबेदार थिए । भार्गसेतु शर्मा गुजरातकी युवती हुन् जो गत वर्ष प्रसारण भएको एमटीभी रोडिज रियल हिरोमा प्रतिस्पर्धी थिइन् । डुबानबाट ज्यान गुमाउने जोखिममा रहेका युवाको उद्धार गरेका कारण उनी भारतको रक्षा मन्त्री पदक अवार्ड प्राप्त गरेकी थिइन् । रोडिजपश्चात विधान र भार्गसेतु रियल लाइफमै जोडी बनेको चर्चा गर्ने गरेका छ ।