पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह त्यति बाहिर देखिएकी छैनन् । यति बेला उनको हातमा कुनै चलचित्र छैनन् । उनले यस वर्ष मुख्य भूमिका निभाएका दुई चलचित्र असफल भए । सम्भवतः त्यसपछि उनले चलचित्रमा काम गर्न निकै सोच्नु पर्ने भएको छ र उनी त्यसकै तयारीमा छिन् । उनी यति बेला प्रेमी देवांश जङ्गबहादुर राणासँग रमाइरहेकी छिन् । उनले वास्तविक जीवनमा देवाशंसँग समय बिताइरहेकी त छिन् नै साथमा उनीसँगै स्क्रिन पनि सेयर गर्ने भएकी छिन् । उनीहरू एक म्युजिक भिडियोमा एकसाथ देखिने भएका छन् । उनले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रेमी देवांशसँगको तस्बिर शेयर गर्दै एक म्युजिक भिडियोमा अभिनय गरेको जानकारी गराएकी हुन् । उनले आमा नेहा आरएल शाहको स्वरमा रहेको तिमी र म’ बोलको गीतमा अभिनय गरेको बताएकी छिन् । साम्राज्ञीले आजसम्म म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइनन् ।