निर्माण भएको लामो समय पछि चलचित्र ‘कमाण्डर’ यही शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदै छ । रिलिजको सँघारमा मङ्गलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक विवेक सापकोटाले चलचित्रमा इमानदार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरू सामना गर्नुपर्छ भन्ने देखाइएको बताए । चलचित्रमा समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका विषय पनि उठाइएको उनले थपे । एकल प्रदर्शनमा उत्रिन लागेको चलचित्रमा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा अनुपले प्रहरी अधिकृतको भूमिका निभाएका छन् ।
यसै चलचित्रबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दै छन् । कार्यक्रममा नव अभिनेत्री सिलवालले ‘कमाण्डर’ पूर्ण मनोरञ्जक चलचित्र भएको र पहिलो पटकमा नै सिनियर कलाकारहरूसँग काम गर्न पाउनु खुसीको कुरा भएको बताउँछिन् । अर्की डेब्यू अभिनेत्री सगुनले पनि ‘पहिलो पटक पर्दामा देखिन लागेका कारण नर्भससँगै उत्साहित भएको बताइन् । उनले यस चलचित्रमा काम गर्दा आफूले धेरै कुरा सिकेको थपिन् । सुपेरियर फिल्मस्को ब्यानरमा विवेक सापकोटाको प्रस्तुति रहेको चलचित्रको सह-निर्मातामा सावनजंग राना रहेका छन् । दिव्य सुवेदीले खिचेको ‘कमाण्डर’ मा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र सङ्गीत छ ।