पछिल्लो समय हप्तौँसम्म हलमा नेपाली फिल्मको खडेरी पर्यो । गएको तिहार पछि दर्जन बढी चलचित्र प्रदर्शनमा आए पनि कुनै चलचित्रले राम्रो प्रदर्शन गर्न सकेनन् । यसकै धङधङीले गर्दा पनि हुन सक्छ हलमा उत्रने आँट कुनै चलचित्रले गर्न सकिरहेका छैनन् । हरेक हप्ता दुई भन्दा बढी चलचित्र प्रदर्शनमा आउँदै गर्दा एकाएक लागेको यो खडेरीलाई अन्त्य गर्न यो हप्ता हलमा चलचित्र ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । गत हप्ता पनि चलचित्र '१२ सताइस्' प्रदर्शनमा आएको थियो तर यसले दर्शकको खडेरी नराम्रोसँग खेप्नु पर्यो । प्रदर्शनमा आएका बलिउडका ठुला ब्यानरका चलचित्रको छायामा यो चलचित्र पर्यो । यसै गरी यो हप्ता पनि सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर एकसाथ प्रदर्शनमा आएको 'कमाण्डर'ले पनि प्रचार प्रसारको कुनै तामझाम गरेन ।
लामो समय नेपाले चलचित्रको बजारमा लागेको खडेरी हटाउन र एकल प्रदर्शनको मौका उठाउन चलचित्रले वर्ड अफ माउथ राम्रो कमाउनु पर्ने देखिन्छ । चलचित्रमा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा अनुपले प्रहरी अधिकृतको भूमिका निभाएका छन् । यसै चलचित्रबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दै छन् । सुपेरियर फिल्मस्को ब्यानरमा विवेक सापकोटाको प्रस्तुति रहेको चलचित्रको सह-निर्मातामा सावनजंग राना रहेका छन् । दिव्य सुवेदीले खिचेको ‘कमाण्डर’ मा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र सङ्गीत छ ।