सत्य घटनामा आधारित चलचित्र ‘कोपिला’को च्यारीटी शो सम्पन्न भएको छ । हेटौडामा आयोजना गरिएको शोमा चलचित्रलाई शुखद् प्रतिक्रिया मिलेको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनालाई पर्दामा उतारिएको चलचित्रको शुक्रवार आयोजित च्यारेटी शोमा निर्मलाकी आमा दुर्गादेवी पन्तको साथमा चलचित्रका कलाकारको उपस्थिति थियो । शोमा चलचित्रका मुख्य कलाकार गणेश गिरी, सरिता गिरी, सञ्जीवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्य लगायतका कलाकार उपस्थित थिए । च्यारीटी शोमा उपस्थित निर्मलाकी आमा दुर्गादेवीलाई आभार पत्रसहित नगद पचास हजार प्रदान गरिएको थियो । चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवाषराज काफ्ले, जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रूपमा रकम हस्तान्तरण गरे । दर्शकले निर्मलाको भूमिका निभाएकी सञ्जीवनी खरेल र उनकी आमाको भूमिका निभाएकी सरिता गिरीको अभिनयको तारिफ गरेका थिए । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, दीपक शर्माको सङ्गीत रहेको छ । 'कोपिला'लाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।