चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको डान्सिङ नम्बर सार्वजनिक गरिएको हो । एक्सन स्टार विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डक अभिनीत चलचित्रको सार्वजनिक गीत मा विराज र निकिता नै फिचर्ड छन् । निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा सङ्गीतकार सुरेश अधिकारीले सङ्गीत भरेका छन् । भने गीतको शब्द सृजना गायक भट्टराई आफैँले गरेका हुन् । सार्वजनिक भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । एक्सन प्रधान चलचित्रलाई विराज आफैले निर्माण तथा निर्देशन गरेका हुन् । यसमा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी राजनराज सिवाकोटीको सङ्गीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/ जामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यस अघि सार्वजनिक भएका ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतबार यो गीत सार्वजनिक गरेको हो । चलचित्र यही माघ २४ देखि अल नेपाल रिलिज हुँदै छ ।