गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्र ‘लुट’ बाट पर्दामा एकसाथ देखिन सुरु गरेका अभिनेता दयाहाङ राई र विपिन कार्कीको डिमाण्ड धेरै छ । लुट पछि ‘लुट २’ र ‘जात्रै जात्रा’ मा सँगै देखिएका उनीहरूका फ्यान अझै अघाएका छैनन् । दर्शकको चाहनालाई पुरा गर्दै दयाहाङ र विपिन पुनः सहकार्य गर्न लागेको खबर बाहिरिएको छ । सिङ्गे लामाको निर्माणमा बन्ने चलचित्र ‘के घर के डेरा’मा दयाहाङले साइन गरिसकेका छन् भने विपिनले पनि मौखिक रूपमा सहमति जनाइसकेका छन् ।
चलचित्र ‘ताकतवर’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा एक समय एक्सन स्टारको रूपमा रुचाइएका अभिनेता सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अभिनेता सविनलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा सविन र अभिनेत्री महिमा सिलवालको प्रेममा आउने उतारचढाव देख्न सकिन्छ । मा सविन र महिमाका अलावा स्वर्गीय राम केशर बोगटी, ध्रुव कोइराला, शेखर सुवेदी, रिजा भुसाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को छायाङ्कन सम्पन्न भएको छ । ७० दिन लगाएर चलचित्रको सम्पूर्ण छायाङ्कनको काम सम्पन्न गरिएको हो । कीर्तिपुरमा तयार गरिएको भव्य सेट र मनाङमा गरी खिचिएको चलचित्रको प्याक अप भएको निर्माता निर्देशक सन्तोष सेनले जानकारी दिएका हुन् । मङ्गलवार छायाङ्कन सकिएपछि बुधवार चलचित्रको जम्बो टोली काठमाडौँ आइपुगेको छ ।
तेलुगु सफल चलचित्र 'अर्जुन रेड्डी'को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ । चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे कुनै पुष्ट खबर भने आएको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।'अर्जुन रेड्डी'को नेपाली रिमेकलाई निर्देशन गर्ने छन् विशाल सापकोटाले । सापकोटा निर्देशित चलचित्र 'सेल्फी किङ' प्रदर्शनको सँघारमा रहेको छ ।
झरना थापाको निर्देशनमा बन्ने चलचित्र 'ए मेरो हजुर ४'को लागी कलाकार फाइनल गर्ने काम भइरहेको छ । गत वर्ष प्रदर्शनमा आएको 'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी हुन् । 'ए मेरो हजुर' शृङ्खलाको चौथो भागमा तेस्रो भागमा अत्यधिक रुचाइएको जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने पक्का भैसकेको छ । भने चलचित्रको लागी अर्का कलाकार पनि फाइनल भएका छन् । चलचित्रमा दोस्रो र तेस्रो सिरिजमा मुख्य भूमिकामा देखिएका अभिनेता सलोन बस्नेत फाइनल भएका हुन् ।
निर्माण भएको लामो समय पछि चलचित्र ‘कमाण्डर’ यही शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदै छ । रिलिजको सँघारमा मङ्गलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक विवेक सापकोटाले चलचित्रमा इमानदार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरू सामना गर्नुपर्छ भन्ने देखाइएको बताए ।
चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । विपिन कार्की स्टारर चलचित्रको 'जिन्दगीको के छ र भर' बोलको गीत सार्वजनिक भएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतको लिरिकल भिडियो मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सुभाष भुसालको सङ्गीत रहेको छ भने सुरज गैरेको शब्द रचना रहेको छ ।
अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा जसिता गुरुङको इन्ट्री भएको छ । चलचित्रमा नायक अनमोल केसीको जोडी जसिता गुरुङसँग बाँधिने भएको हो । बुधवार निर्माण पक्ष र जसिता बिच औपचारिक सम्झौता भएको हो । चलचित्र ‘लिलीबिली’ र ‘लभ स्टेसन’ मा प्रदीप खड्कासँग जोडी बाँधिएकी जसिता र अनमोलको जोडी 'एन्टी हिरो'मा देख्न पाइनेछ ।
केही दिन अघि गायक निशान भट्टराईले ‘लाहुर जाने रेल’ बोलको नयाँ गीत सार्वजनिक गरे । उनले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा निशान नै फिचर्ड छन् भने उनलाई रीचा न्यौपानेले साथ दिएकी छिन् । निशान र रीचा सामाजिक सञ्जालबाट नजिक भएका हुन् ।
पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह त्यति बाहिर देखिएकी छैनन् । यति बेला उनको हातमा कुनै चलचित्र छैनन् । उनले यस वर्ष मुख्य भूमिका निभाएका दुई चलचित्र असफल भए । सम्भवतः त्यसपछि उनले चलचित्रमा काम गर्न निकै सोच्नु पर्ने भएको छ र उनी त्यसकै तयारीमा छिन् । उनी यति बेला प्रेमी देवांश जङ्गबहादुर राणासँग रमाइरहेकी छिन् । उनले वास्तविक जीवनमा देवाशंसँग समय बिताइरहेकी त छिन् नै साथमा उनीसँगै स्क्रिन पनि सेयर गर्ने भएकी छिन् । उनीहरू एक म्युजिक भिडियोमा एकसाथ देखिने भएका छन् । उनले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रेमी देवांशसँगको तस्बिर शेयर गर्दै एक म्युजिक भिडियोमा अभिनय गरेको जानकारी गराएकी हुन् ।
पछिल्लो समय निकै चर्चामा आएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' को १७औँ भाग प्रसारण भएको छ । सोमवार प्रसारण भएको एपिसोड अलि विशेष नै बन्यो । वाइल्ड कार्ड इन्ट्रीबाट प्रवेश भएका प्रतिस्पर्धी को प्रस्तुति रहेको यस एपिसोड मनोरञ्जनात्मकका साथमा भावुक बनाउने खालको रहेको छ । केही दिन अघि सोकी निर्णायक ॠचा शर्माको आमाको निधन भएको थियो । त्यसैले उनी पछिल्ला केही एपिसोडमा उपस्थित थिइनन् । आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा फर्किएकी ॠचाको उपस्थितिले सो केही फरक माहौल बनाइरहेको थियो ।
चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक सम्बन्धी विभिन्न समाचारहरू आइरहेका बेला चलचित्रमा नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने खबर पनि बाहिरिइरहेको छ । चलचित्रमा आफ्नो नाम मुसिएपछी आर्यनले यस विषयमा बोलेका छन् । उनले, 'मैले केही दिनदेखि समाचारहरू देखिरहेको छु जसमा निर्माणाधीन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म भएको भनिएको छ तर यो स्पष्टीकरणको लागि मात्र हो मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु' भनेका छन् ।
हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा 'म त फसेँ माकुरीको जालमा परेर ' बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा हरिवंश आचार्य र टिका प्रसाईँको स्वर रहेको छ भने शब्द हिरण्य भोजपुरेको रहेको छ । 'म त फसेँ माकुरीको जालमा परेर 'मा सङ्गीत हरि शरणले भरेका छन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित सञ्चार कर्मी रवि लामिछानेले सफाइ पाएका छन् । पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो । आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले पुष्टि गरेका छन् ।
गायक आर्जन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको 'डलर' बोलको गीत सोमवार सार्वजनिक भएको हो । गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्टको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।
सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । सोमवार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नायक सुशील श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम देखाइएको छ ।
चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको डान्सिङ नम्बर सार्वजनिक गरिएको हो । एक्सन स्टार विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डक अभिनीत चलचित्रको सार्वजनिक गीत मा विराज र निकिता नै फिचर्ड छन् । निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा सङ्गीतकार सुरेश अधिकारीले सङ्गीत भरेका छन् । भने गीतको शब्द सृजना गायक भट्टराई आफैँले गरेका हुन् ।
सौगात मल्ल र बिपिन कार्की स्टारर चलचित्र ‘लालपुर्जा’ युट्युबमा सार्वजनिक भएको छ । निगम श्रेष्ठ निर्देशित चलचित्र बिहीबार बुढासुब्बा मुभिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । चलचित्रमा सौगात मल्ल र बिपिन कार्कीका अलावा हरिहर शर्मा, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरसिया, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहेको छ ।