हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मदन र सरानाले पहिलो पटक एउटा गीतमा आवाज भरेका हुन् । 'पानी छाया' बोलको गीत काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको सङ्गीत रहेको छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार घिमिरे, सन्दीप क्षेत्री, भिडियोका निर्देशक सुव्रतराज आचार्य, गीतकार राजेन्द्र थापा, निर्देशक दीपाश्री निरौला लगायतले गीत सार्वजनिक गरेका हुन् । विगत १७ वर्ष यता अमेरिका बस्दै आएकी सरानाको आवाज र नेपाली भाषा प्रतिको लगावको कलाकार हरिवंश आचार्यले प्रशंसा गरे । गीत सार्वजनिक कार्यक्रममा गीत राम्रो बनेको प्रतिक्रिया मिल्यो ।

सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरानाको साथमा कोविश पाण्डे, आर्शिना भट्टराईको अभिनय रहेको छ । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् भने राजिव समरको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै मदनकृष्णले आफूलाई गाउने हिम्मत नभए पनि सबैले साथ दिएकाले गीत गाएको बताए । साथमा छोरीको आवाज आफूलाई निकै मन पर्ने बताए ।