निकेश खड्काको निर्देशनमा बन्दै गरेको चलचित्र ‘चपली हाइट ३’को छायाङ्कन सकिएको छ । एक गीतको छायाङ्कनसँगै यसको सम्पूर्ण छायाङ्कन सकिएको हो । चलचित्रको गीत ‘चारानाको मसला’को छायाङ्कन सकिएसँगै चलचित्रको छायाङ्कन बिट मारिएको हो । गीतमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पालाई बोल्ड रुपमा देख्न पाइनेछ । काठमाडौँको ठमेलमा अवस्थित एक क्लबमा गीतको छायाङ्कन गरिएको हो । गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवास भुसालको सङ्गीत रहेको छ । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठी फिचर्ड गीतको भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।