देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को च्यारिटी सो सम्पन्न भएको छ । यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको एक्सन लभ स्टोरी चलचित्रमा परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ । मङ्गलवार विग मुभिजमा आयोजित च्यारिटी सो नेपाल चलचित्र कलाकार सङ्घको सहयोगार्थ गरिएको हो । च्यारिटीशो बाट सङ्कालीत रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए । च्यारिटी शोमा चलचित्र निर्देशकदेखि कलाकारहरू सम्पूर्ण उपस्थित भएका थिए । भने चलचित्र हेर्न पुगेका कलाकार र दर्शकले चलचित्र राम्रो बनेको बताएका छन् । चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले चलचित्रमा केही कमी कमजोरी भए पनि दर्शकलाई निराश भने नबनाउने दाबी गरे । उनले चलचित्रका प्रमुख अभिनेता करण वर्मालाई हेर्नकै लागि पनि हलमा दर्शक आउने विश्वास व्यक्त गरे । चलचित्र हेर्न पुगेकी अभिनेत्री रेजिना उप्रेतीले आफूलाई फिल्म राम्रो लागेको बताइन् । निर्माता जयराज रायले चलचित्र कलाकार सङ्घको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शोमा फिल्म कर्मीबाट पाएको सकारात्मक प्रतिक्रियाले एकदमै खुसी लागेको बताए । उनले थपे, 'आफैँ पनि निर्माता तथा कलाकार भएकोले पनि सहयोगको कुरा आएपछि हामीले च्यारिटीलाई चलचित्र दिएका हौँ । ‘दि कर्मा’ को यो च्यारिटीबाट सङ्कलित सम्पूर्ण रकम हाम्रो टिमले कलाकार संघलाई नै प्रदान गरेको छ' । च्यारिटिमा पुगेकी अभिनेत्री परमिताले आफ्नो अभिनयको प्रशंसा गरेकोमा सबैलाई धन्यवाद दिइन् । यसका अर्का कलाकार वुद्दि तामाङले पनि आफ्नो अभिनय रुचाइएकोमा खुसी व्यक्त गरे ।  ‘दि कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो । करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।