चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले बिहीबार प्रदर्शन मिति सार्वजनिक गरेको हो । योसँगै चलचित्र आगामी वर्षको वैशाख १९ गते प्रदर्शनमा आउनेछ । मिलन डी. काप्रीको निर्देशन रहेको फिल्मको पोस्टरमा आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधिएको देख्न सकिन्छ जसको मुनी एक व्यक्ति उभिएका छन् । रहस्यमय मर्डरको कथामा आधारित चलचित्र क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि , जयन श्रेष्ठ इन्टरटेनमेन्ट र आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ । चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर लिम्बु वनेम, सुयसा अधिकारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । क्लेमेन्टाइन प्रोडक्सन प्रा ।लि ।, जयन श्रेष्ठ इन्टरटेनमेन्ट र आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुत कर्ता जगन श्रेष्ठ र निर्मातामा जयन श्रेष्ठ रहेका छन् । आङछेन लामाको छायाङ्कन, विशेष पाण्डे र विराज गौतमको सङ्गीत,  शिशिर लिम्बु वनेमको कथा पटकथा रहेको छ । 'षट्कोण'मा कर्माले एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निभाएका छन् । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यसै चलचित्रबाट मिलनले निर्देशनमा डेब्यू गरेका छन् । चलचित्र  भिमफेदी र काठमाडौँमा खिचिएको छ ।