बुधवार धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा धुर्मुस सिताराम कट्टेल र कुन्जना घिमिरे सुन्तली को मुख्य भूमिका रहेको छ । सानो पर्दामा हास्य कलाकारको भूमिकाबाट दर्शकको मन जितेको यो जोडी पछिल्लो समय अभिनय भन्दा बाहिर सामाजिक कार्यमा व्यस्त छन् । यसै बिच आफ्नो ड्रीम प्रोजेक्ट अर्थात् देशको गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा लागी परेका छन् । यसैबिच कलाकारितालाई अगाडी बढाउँदै उनीहरूले चलचित्र सेन्टी भाइरस निर्माण गरेका हुन् । चलचित्रमा सुन्तली कुन्जनाले नायिका र धुर्मुस सितारामले नायकको भूमिका निभाएका छन् । बुधवार ट्रेलर रिलिज कार्यक्रममा बोल्दै सुन्तलीले बाल्यकालदेखि नै ऐना हेरेर भविष्यमा हिरोइन हुने सपना बुन्ने उनको २८ वर्षपछि त्यो सपना साकार भएको बताएकी छिन् ।
उनले आफूले आफ्नी छोरीको उमेरदेखि नै नायिका बन्छु भनेर सोचेको बताइन् । उनले ठट्यौली पारामा थपिन् 'हिजोआज सुन्तली कत्ती नक्कली बनेको भनेर मलाई भन्नुहुन्छ । अब, म राम्री चलचित्रको पर्दामा बन्न त पाउँदिन । अब, बाहिर पनि नबनूँ त ?' उनले धेरैले आफूलाई सामाजिक अभियन्तासँगै सेलिब्रेटी पनि भएका कारण फिटनेशमा ध्यान दिन आग्रह गरेपछि राम्री हुने प्रयासमा रहेको सुनाइन् । कार्यक्रममा आफ्नो कला यात्रा र अनुभव सुनाउँदा धुर्मुस र सुन्तली निकै भावुक बने । विगत ६ वर्ष यता आफ्नो कर्म, परिवार, कलाकारिता र सानी छोरी छोडेर देशको लागी दिन रात नभनी लागिपरेको र यसमा आफूलाई गर्व लाग्ने भन्दै गह भरी आँसु पारे ।
सितारामले सामाजिक काममा लागेसँगै आफू परिवार र कलाकारिताबाट निकै टाढा भएको सुनाए । उनले यो भन्दै गर्दा कुन्जनाका आँखाबाट आशु रोकिएन । उनले आफूले चलचित्रलाई पूर्ण रूपमा समय दिन नसकेको र १५ घण्टामा आफ्नो भागको डबिङ गर्दाको अनुभव पनि सुनाए । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्र फागुनको ९ गतेबाट रिलिज हुँदै छ ।