सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’ नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर प्रदर्शनमा आउँदै छ । भ्यालेन्टाइन डे कै दिन अस्ट्रेलियामा 'नाइन मिल क्याफे र सल्भ एजुकेसन कन्सल्टेन्सीले चलचित्र प्रदर्शन गर्दै छन् । मेलबर्न स्थित चाइना टाउन सिनेमामा ‘लभ डायरिज’ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।  ट्रेलर र गीतलाई दर्शकले रुचाएपछि स्वदेश प्रदर्शन अगावै विदेशबाट माग भइरहेको निर्माता विनोद सापकोटाले बताएका छन् । नायक सुशील श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्रले यी दुई बिचको प्रेम, रोमान्स र बिछोडको कथा भन्छ ।

लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रमा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् । विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।