छिमेकी देश भारतबाट वर्षेनी लाखौँ पर्यटक नेपाल आउँछन् । यसमा केहि सङ्ख्या भारतिय कलाकारको पनि हुन्छ । समय समयमा भारतिय कलाकार नेपाल भ्रमण गर्न आउँछन् । उनिहरु नेपाल आउँदा कुनै न कुनै समाचार बनिरहेकै हुन्छन् । बेला बेला उनिहरुका सामान्य गल्ती वा भनूँ लापरवाहिले उनिहरु विवादमा तानिन्छन् । नेपाल भारतको छिमेकी देश हो तर भारतको अंश होइन । तर यसै विषयमा राम्रो जानकारी नपाएका केहि बलिउडका कलाकार नेपाललाई भारतकै अंश सम्झन्छन् र नेपाल आउँदा अनिवार्य पासपोर्ट बोक्दैनन् जसको कारण उनिहरु नेपाल आउन त पाउँदैनन् नै साथमा विवादित पनि हुन्छन् । अझ उनिहरु स्वयं आफुलाई यस बारे थाहै नभएको र यस्तो पनि हुन्छ र ? भन्दै आक्रोश पोख्छन् । भर्खर भारतिय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहराको हकमा । बिहिवार नेपाल आउन लागेका करणविरलाई दिल्ली एयरपोर्टमा रोकियो ।

परिवारसँग नेपाल घुम्न आउने तयारीका साथ एयरपोर्ट पुगेका उनलाई पासपोर्ट नबोकेका कारण रोकिएको हो । उनी आधार कार्डको माध्यमले नेपाल आउन लागेका थिए तर नेपाल आउन पासपोर्ट अनिवार्य भएपछि उनलाई एयरपोर्टबाट फर्काइएको हो । नेपाल आउन नपाएपछि उनले आफ्नो ट्विटरमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले आधार कार्ड मार्फत नेपाल जान पाइएन यदि आधार कार्डमार्फत यात्रा गर्न अनुमति छैन र नेपाल सरकारले यसलाई स्वीकार गर्दैन भने एयर इन्डियाले मुम्बईबाट उडान भर्नबाट किन नरोकेको भन्ने प्रश्न गरेका छन् । उनले यस बारे पोस्ट गरेसँगै यात्रामा निस्किँदा डकुमेन्ट बोक्नुपर्छ भन्ने थाहा थिएन र ? भन्दै ट्रोल बनिरहेका छन् । साथै उनको पोस्टलाई एयर इन्डियाले पनि जवाफ दिएको छ । जसमा भारतबाट नेपाल यात्रा गर्दा पासपोर्ट अनिवार्य भएको भनिएको छ ।