मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ । वीर गोर्खालीको कथामा निर्माण हुने चलचित्र लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ । चाँडै छायाङ्कन सुरु हुने चलचित्रको बजेट २० करोड बढी रहेको बताइएको छ । चलचित्रमा कलाकारको रूपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । सन् २०२१ मा विश्वभर प्रदर्शन आउने चलचित्रबाट प्रशान्तले ‘परदेशी’ रिलिजको ४ वर्षपछि नेपाली फिल्ममा कम ब्याक गर्ने भएका छन् ।

५० प्रतिशत हलिउड प्राविधिकको सहकार्यमा बन्ने चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा निर्माण हुनेछ । निर्देशक चाम्सका अनुसार चलचित्रको लन्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने छ । नेपाली चलचित्रलाई विश्वव्यापी रूपमा चिनाउन लन्डनमा पहिलो पटक डबल टेकर बसबाट अहिलेदेखि नै प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी दिएका छन् । यूके, अफगानिस्तान र नेपालमा छायाङ्कन हुने चलचित्रको लागी नायिकाको खोजी भइरहेको छ । निर्देशक चाम्सले यो आफ्नो ड्रिम प्रोजेक्ट भएको बताएका छन् । यसको कथा प्रदीप भारद्वाजले लेखेका छन् ।