विराज भट्टको चलचित्र ‘साङ्लो’ लाई गीत चोरीको आरोप लागेको छ । चलचित्र यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको हो । समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका छन् । अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको चलचित्रको यो गीत केही दिन अघि सार्वजनिक भएको थियो । शुक्रवार सङ्गीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध उजुरी दिएको हो । प्रहरी परिसर टेकुका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि गीत कम्पोज गर्न २ वर्ष अगाडि सङ्गीतकार अधिकारीलाई दिएको बताएका छन् । तर चलचित्रमा यो गीत समावेश नगरिएपछि गीत सङ्गीतकार अधिकारीसँगै रहेको उनले बताएका छन् ।
सुदीपले ‘साङ्लो’ मा आफूले लेखेको गीत राखिएको विषयमा कुनै जानकारी नै नभएको जनाएका छन् । गीतमा रचनाकारको रूपमा क्रेडिट नदिएको बरु गायक निशान कै नाम राखिएको बताउँछन् । त्यसैले आफूले प्रहरीमा उजुरी दिन बाध्य भएको उनको भनाई छ । उनले क्षतिपूर्तिसहित चलचित्रबाट गीत हटाउनु पर्ने उनको माग राखेका छन् । यसबारे गायक निशानले गीत आफूले गाएको भए पनि शब्द भने आफ्नो नभएको बताएका छन् । गीतमा रचनाकारमा निशानको नाम पर्नु प्राविधिक त्रुटि भएको निर्देशन अभिनेता विराजले बताएका छन् । उनले गीत चोरेर आफ्नो चलचित्रमा राखेको नभै सङ्गीतकार सुरेशसँग सम्झौता गरेरै गीत लिएको थपेका छन् । उनले आफूलाई गीत सङ्गीतकार सुरेशले नै लेखेको बताइएको भनेका छन् ।