बलिउड अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको चलचित्र 'थप्पड'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेरेपछि शनिवार अभिनेत्री शिल्पा पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव र घरेलु हिंसा सम्बन्धी प्रसङ्ग निकालेकी छिन् । चलचित्र 'थप्पड'को ट्रेलर सेयर गर्दै उनले स्ट्याटस पनि लेखेकी छिन् । ट्रेलरलाई उदृत गर्दै उनले 'उसले मलाई प्रहार गर्न सक्दैन, उसले मलाई थप्पड हान्न सक्दैन, न नै प्रहार गर्न नै, बिर्सन पनि सक्दिन, माफी पनि दिन्न' भनेकी छिन् । उनको स्ट्याटसका अनुसार उनलाई ट्रेलरमा भएको अन्तिम संवाद निकै मन परेको भनेकी छिन् । उनले चलचित्रले निकै राम्रो प्रेरणा र शिक्षा दिनेमा आशा व्यक्त गरेकी छिन् ।
सायद आफू पनि घरेलु हिंसाबाट पीडित भइसकेकी उनलाई ट्रेलरले धेरै कुरा याद दिलाएको हुनु पर्छ । अनुभव सिन्हाले निर्देशन गरेको चलचित्रले एक थप्पडले कसरी सम्बन्धमा चिसो पन ल्याउँछ भन्ने देखाएको छ । 'थप्पड' २४ फेब्रुअरीमा रिलिज हुने तयारीमा छ ।