गत वर्षको समीक्षात्मक तथा व्यापारिक सफल चलचित्र ‘बुलबुल’ ले अर्को अवार्ड हात पारेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल चलचित्रले ‘बुलबुल’ ले फ्रान्समा अवार्ड जितेको छ । फ्रान्समा आयोजित दक्षिण एसिया फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड चुमेको हो । अवार्ड समारोह सहभागी हुन निर्देशक विनोद पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स पुगेका थिए । अवार्ड पाए पछि निर्देशक पौडेलले फेसबुकमार्फत खुसी साटेका छन् । एउटी विवाहित महिलाको एक्लोपनको कथा बोकेको चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुसाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडेलको संयुक्त लगानी रहेको छ । राम राजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।