चलचित्र 'दासढुङ्गा २' नबन्ने भएको छ । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको दुर्घटनामा मृत्यु भएको घटनामा आधारित रहेर यो फिल्म बनाउने घोषणा गरिएको थियो । लामो समयदेखि फिल्म निर्माण अनुमतिका लागि लागी परेको 'दासढुङ्गा २' अन्ततः नबन्ने नै भएको छ । चलचित्र विकास बोर्डले फिल्म निर्माणको अनुमति नदिँदा र स्क्रिप्टमा फेरबदल गर्नुपर्ने भनिएपछि निर्माण पक्षले चलचित्र नबनाउने टुङ्गो लगाएको हो । 'दासढुङ्गा २'को कथावस्तुले अहिले सत्तामा रहेकाहरूमाथि नै प्रश्न उठाउने भएपछि बोर्डले निर्माण अनुमति नदिएको भनिएको छ । बोर्डले मदन भण्डारीका नाममा खुलेका संस्था मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्मृति प्रतिष्ठानलाई समेत पठाएको थियो । यस संस्थाले पनि कथा सारमा चित्त नबुझाएको बताइएको छ ।

चलचित्रलाई कुमार भट्टराईले निर्देशन गर्ने भनिएको थियो । उनले आफूले क्षणिक चर्चाको लागि चलचित्र बनाउन नखोजेको र सम्झौता गरेर आफू काम गर्न नसक्ने भएपछि पहिले जस्तो जाँगर आफूमा नभएको बताएका छन् । उनले भने, 'त्यो बेला यस्तो भएको रहेछ भनेर दस्ताबेज रूपमा रहन्छ हामीले बनाएको फिल्म । उता संस्थाहरूबाट लिखित सर्तहरू पेस भएका छन्, यस्तो गर्ने भए बनाउन दिने भनेर । मैले सरकारलाई रिझाउन फिल्म बनाएको होइन । त्यसैले अब यो फिल्म बन्दैन।' निर्माता अपिल विष्ट पनि फिल्म नबनाउने निर्णयमा पुगेको बताउँछन् । उनले आफूले फिल्म कर्मीबाट पनि कुनै सहयोग नपाएको गुनासो पोखेका छन् ।