चलचित्र ‘के घर के डेरा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । सुव्रतराज आचार्यको निर्देशनमा बन्ने चलचित्रमा अभिनेता दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहने निर्माण पक्षले खुलाएको छ । दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन् ।
लचित्रमा दयाहाङ, विपिन र वर्षाको साथमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतको पनि अभिनय रहनेछ । राजधानीमा कोठा भाडामा लिएर बस्नेहरूको कथामा आधारित चलचित्रमा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रूपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतीक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो ।
‘के घर के डेरा’लाई दीर्घ वीर गुरुङले खिच्दै छन् । मित्र डी. गुरुङको सम्पादन रहने चलचित्रमा शङ्कर थापा ‘स्माइल’ को सङ्गीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । पैँतिस वर्ष अगाडी निर्देशक प्रदीप रिमालले यही नाम सिनेमा निर्माण गरेका थिए । घोषणा कार्यक्रममा अभिनेता द्वय दयाहाङ र विपिनले फिल्मको कथा र आफ्नो भूमिका मन परेका कारण काम गर्न राजी भएको बताए । यसै गरी अभिनेत्री वर्षाले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएकी छिन् ।