चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट फाइनल भएको छ । अजित कुमार थापाले निर्माण गरेको चलचित्र आगामी हरितालिका तीजको अवसर पारेर भदौ ५ गते रिलिज हुने भएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको चलचित्र प्राविधिक कारणले समयमा नै प्रदर्शनमा ल्याउन नसकिएको निर्माता थापाले बताएका छन् ।  भदौ ५ मा भने चलचित्र जसरी पनि प्रदर्शनमा ल्याउने उनले विश्वास दिलाए । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा पूजा, आकाश र सोनमका साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ । लण्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड चलचित्र ‘पासवर्ड’ निर्माण गरेको थियो । महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रले त्रिकोणात्मक प्रेमकथाका भन्ने छ ।