विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ प्रदर्शनको सँघारमा छ । यही माघ २४ मा चलचित्र प्रदर्शनमा आउँदै छ । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् । एउटा कमेडियन हँसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मनभित्रको पीडालाई चलचित्रमा उतारिएको छ । एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यतामा आधारित चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एउटा कलाकारले जीवनमा आधारित चलचित्रका प्रमुख कलाकार विपिन कार्कीसँग चर्चित हास्य कलाकार कलाकार दीपकराज गिरीले भेट गरेका छन् । चलचित्रको कथा र अभिनेता विपिनले निर्वाह गरेको भूमिकाबारे दीपकले आफ्नो धारणा राखेका छन् । उनले कुराकानीमा एउटा कमेडियन हुँदा मनभित्रका भावनालाई कतिसम्म दबाउनु पर्छ भनेर उल्लेख गरेका छन् । उनले चलचित्रको ट्रेलरमा आफ्नै कथा पाएको समेत बताएका छन् ।
उनले चलचित्रमा समावेश केही घटना आफ्नो जीवनमा मेल खाएको बताउँदै उनी भन्छन्, 'ट्वाक्क टुक्कबाट हिट भएँ पनि आर्थिक रूपमा सबल नहुँदा बस नै चढ्नु पर्थ्यो । केही समयपछि टेम्पो चढ्न थालेँ,’ उनले एक घटना सम्झँदै अगाडि भने- ‘एक पटक मेरो भाइको दुर्घटना भएको थियो । म औषधि लिन जाँदा एक जनाले चिनेर ठट्यौली शैलीमा कुरा गरे ।' ‘मेरो मनभित्रको पिडा मसँगै थियो तर त्यहाँ दाइ दीपक हैन, कलाकार दीपकको दायित्व निर्वाह गरेँ । मनभित्रको पिडा दबाएर मुस्कुराएँ । सायद यसैलाई ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ’ भन्छन् ’ उनी सुनिए । यस्तै विपिनले पनि कमेडीको कथामा चलचित्र गरेपछि यो पेसा कति गाह्रो छ भन्ने महसुस गरेको बताएका छन् । चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।
हेरौँ दीपक र विपिनको सेल्फी वार्ता :