धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । निर्माण कार्य भैरहदा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम पनि जारी छ । रङ्गशाला निर्माणको लागी आर्थिक सहयोग जुटाउन आइतबारदेखी श्रीमद्भागवत महायज्ञ पनि आयोजना गरिएको छ । यसैबिच विभिन्न सङ्घ संस्था तथा कलाकार लगायतले सहयोग घोषणा गरिरहेका छन् । यसैबिच सोमबार चर्चित गायक प्रमोद खरेलले पनि क्रिकेट रङ्गशाला निर्माणका लागी आफूले पनि आर्थिक सहयोग गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखी क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी आफूले हरेक कार्यक्रमबाट पाँच हजार एक सय एघारका दरले सहयोग गर्ने घोषणा गरेका हुन् ।
प्रमोदले 'जनस्तरबाट निर्माण भइरहेको गौतम_बुद्ध_अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी म मेरो तर्फ बाट सहयोगको घोषणा गर्दै छु । जो अन्तर्गत २०७६ माघ १७ देखि २०७७ माघ १७ ( अर्थात् १ वर्ष ) भित्र मैले गर्ने कुनै पनि सॉगितीक कार्यक्रम बाट लिने पारिश्रमिकमा हरेक कार्यक्रम बाट रु ५१११- ( पाँच हजार एक सय एघार ) का दरले यो अभियान लाई प्रदान गर्नेछु । थोपा थोपा मिले सागर अवश्य बन्नेछ।' लेखेका छन् ।