विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ प्रदर्शनको सँघारमा छ । यही माघ २४ मा चलचित्र प्रदर्शनमा आउँदै छ । चलचित्रको प्रचार प्रसारको लागी टिमले हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको थियो । गत माघ ५ देखि माघ २० सम्म सञ्चालित प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मङ्ग्लबार हाम्रो पात्रोमा सहभागीको नाम सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागीबाट दीवस पोखरेल विजेता बनेका छन् । एपको एज मार्फत लाइभ आएर अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन् । दीवसले खिचेको कमेडीयुक्त तस्बिरले निर्णायक र निर्माण पक्षको मन जितेको हो । विपिनले भने,‘हामीले पुरस्कार नै अभिनय सिकाउने राखेका छौ र उहाँको तस्बिर हेर्दा अभिनयमा इच्छुक देखिनु भएको छ’ । उनको कलाकारितामा मदत पुग्ने विश्वास विपिनले लिए ।  दीवससँगै अन्य १० प्रतियोगीले प्रिमियरको जनही दुई पास जितेका छन् । दीवसले कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृत्ति पाएका छन् । इटहरी निवासी दीवसले पनि अभिनय सिक्ने एउटा सपना फिल्मले पुरा गरेको बताएका छन् । उनी प्रिमियरको लागी काठमाडौँ आउँदै छन् ।  विशाल सापकोटाले निर्देशन गरेका हुन् ।    

एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् । आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’को जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ । दुनियाँ हँसाउने हास्य कलाकारको दुखद भोगाइ प्रस्तुत गरिएको चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।