पछिल्लो समय नाम चलेका कलाकारको प्रतीक्षित चलचित्रले समेत हलसम्म दर्शक तान्न सकिरहेका छैनन् । यति बेला नेपाली बक्स अफिस सुनसान मात्र छैन निराशाजनक पनि छ । आस गरिएका चलचित्रले समेत हावा खाँदा समग्र नेपाली चलचित्र क्षेत्रले नै एक पटक सोच्नु पर्ने भएको छ । हलमा चलचित्र उतार्न पनि निर्मातालाई गाह्रो परिरहेको छ । यसै बिच यही फागुन ९ गतेबाट नेपाली कथानक चलचित्र 'आमा' प्रदर्शनमा आउँदै छ । चलचित्रमा ठुलो स्टारडम भएका कलाकारको अभिनय त छैन तर मुख्य भूमिकामा रहेका सुरक्षा पन्त र मिथिला शर्माको काम भने दर्शकले मन पराएका छन् । केही समय अघि सार्वजनिक गरिएको ट्रेलर र गीतले चलचित्र दर्शकको मनमा बस्ने अपेक्षा गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको सफलताका लागी वर्ड अफ माउथ निकै बलियो हुनु पर्ने छ । बिचमा कमर्सियल चलचित्रमा हात हालेर केहि असफल भएका दीपेन्द्रलाई 'आमा' एउटा अवसर पनि बन्न सक्ने छ । किनकी उनि यसै चलचित्रबाट आफ्नो पहिचानमा फर्किएका छन् ।  

दर्शकले गीत र ट्रेलरलाई मन पराएसँगै चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क भएको छ । निर्देशक खनाल निर्देशित चलचित्र 'पशुपतिप्रसाद' हेरेका दर्शकको लागी भने 'आमा' निकै प्रतीक्षित बनेको छ । किनकि खनाल आफ्नो चलचित्रमा विशुद्ध आफ्नो पन र अर्गानीक स्वाद दिन माहिर छन् जुन नेपाली दर्शकले खोजेको स्वाद हो ।  चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुसाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ । 'आमा'लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् साथै सह-निर्मातामा सन्तोष अधिकारी हुन् ।