निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सोमवार सार्वजनिक गरियो । आगामी चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसारको सामाग्री स्वरूप गीत सार्वजनिक भएसँगै नयाँ योजना अगाडि सारेको छ । चलचित्रले दर्शकलाई बैंकक घुमाउने उपहार योजना ल्याएको हो । युट्युबमा सार्वजनिक भएको गीत ‘चार आनाको मसला’ को टिकटक बनाएर जो कोहीले यो योजनामा सहभागिता जनाउन सक्नेछन् । चलचित्रका निर्माता अर्जुन कुमारले प्रथम हुनेलाई बैंकक घुमाइने बताएका छन् । सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियो मध्ये एउटालाई विजेता घोषणा गरिने उनले बताए ।

‘चपली हाइट ३’को दर्शकलाई बैंकक घुमाउने योजना

गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ भने यो योजनाले गीत अझ धेरै दर्शकमाझ पुग्ने र चलचित्रको प्रचार प्रसारमा सघाउ पुग्ने निर्माण पक्षले आशा राखेको छ । ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो ।