विराज भट्टको चलचित्र ‘साङ्लो’ लाई गीत चोरीको आरोप लागेको थियो । चलचित्रको रिलिज सँघारमा आइलागेको यो आरोपलाई लिएर अभिनेता निर्देशक विराज भट्टले गुनासो गरेका छन् । गएको शुक्रवार ‘साङ्लो’ मा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । गीतको शब्द आफूले लेखेको तर जानकारी विनै फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै प्रतिलिपि अधिकारलाई लिएर उनले उजुरी दर्ता गराएका थिए । प्रदर्शनको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको अभिनेता निर्माता निर्देशकले बताएका छन् ।

मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उनले सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठुलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको बताए । उनले आफूले गीत सुरेश अधिकारीबाट लिएको र यसमा आफूलाई अन्य कुनै जानकारी नभएको बताए । उनले प्रश्न गरे, 'सङ्गीत कार सुरेशले कहाँबाट गीत लिएको हो मलाई थाहा छैन । मेरो चाहिँ के गल्ती छ र गीतको क्षतिपूर्ति दिनु ? मैले हिजो उहाँ (सुदीप भुपाल सिंह) सँग सहमतिको प्रयास गरेको थिएँ । तर, उहाँले १०२० लाख पाए मात्र सहमति गर्न सकिन्छ भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्नुभयो । के एउटा निर्दोष मान्छेलाई ‘ब्ल्याकमेलिङ’ गर्नु उचित हो ?' उनले कानुनले आफ्नो चलचित्रबाट गीत हटाउन निर्देशन दिएको खण्डमा आफू फिल्ममा गीत नराख्ने उनले बताए र यसबाट चलचित्रलाई पर्ने असार आफूले स्विकार्ने उनले थपे । उनले आफूले कुनै पनि कानुन विपरीत काम नगरेको अडान लिएका छन् ।  सङ्गीतकार अधिकारीले गीतमा गायक निशान भट्टराईको नाम रचनाकारमा पर्नुमा प्राविधिक त्रुटि रहेको बताउँदै निर्देशक सिंहसँग सहमति भैसकेको बताएका छन् ।