विभिन्न वादविवाद र दोशारोप पछि अन्ततः ‘साङ्लो’ को गीतको विवाद टुङ्गिएको छ । ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरिएको भन्दै गएको शुक्रवार निर्देशक सुदीप भुपाल सिंहले प्रहरीमा उजुरी दिएका थिए । बुधवार सङ्गीतकार सुरेश अधिकारी र निर्देशक सुदीप भुपाल सिंहबिच भएको सम्झौतामा गीतमा दुवैको नाम गीतकारमा राख्ने सहमति भएको छ । यसै गरी निर्देशक सुदीपले क्षतिपूर्ति स्वरूप आफूले ५० हजार १ रुपैयाँ पाएको बताएका छन् । उनले कुराकानीमा आफूले पाएको रकमको एक रुपैयाँ मात्र आफ्नो साथमा राख्ने र बाँकी ५० हजार स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने सुनाए ।
मङ्गलवार अभिनेता विराज भट्टले पत्रकार सम्मेलनमा ठुलो रकम मागेर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको भन्ने आरोपबारे पनि निर्देशक सिंहले मुख खोल्दै उनले आफूले ‘ब्ल्याकमेलिङ’ गरेको भए कानुनी सजाय भोग्न तयार रहेको बताएका छन् । यसबारे बोल्दै सङ्गीताकार सुरेश अधिकारीले ‘हामीबाट केही गल्ती भएको पक्कै हो । विराज जीको आग्रहमा मैले गीतको शब्दमा केही परिवर्तन गरेको हुँ । सुदीप जीसँग सम्पर्क गर्ने कोसिस पनि गरेको थिएँ । तर, त्यस बेला उहाँसँग सम्पर्क हुन सकेन । पछि उहाँसँग सम्पर्क भएपछि कुरा मिलिहाल्छ भन्ने मैले सोचेँ' भनेका छन् । सङ्गीतकार अधिकारीले अब युट्युबमा आफ्नो र निर्देशक सुदीपको नाम गीतकारको रूपमा आउने समेत बताए । सुदीपले पनि आफ्नो लडाइँ गलत संस्कारको विरुद्धमा भएको र ‘साङ्लो’ को सदस्य हुन पाउँदा खुसी भएको सुनाए । विराज र निकिता चाण्डकको मुख्य भूमिका रहेको चलचित्र साङ्लो’ यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।