मङ्गलवार सार्वजनिक भएको चलचित्र 'प्रेम गीत ३' को पहिलो गीत युट्युब ट्रेन्डिङको नम्बर १ मा परेको छ । यस वर्षको प्रतीक्षित चलचित्रको गीत 'हात्ती ढुङ्गामा' लाई युट्युबमा हालसम्म १० लाख ४३ हजार भन्दा बढी पटक हेरिसकिएको छ । गीत सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेण्डिङ्गको शीर्ष स्थानमा आएको हो । सगर आले र मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । सागर आले र मेलिना राईको स्वर रहेको गीतमा हर्क साउदको शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ । यो गीतलाई कविराज गहतराजले कोरियोगाफ्री गरेका हुन् । गीत सार्वजनिक भएसँगै चलचित्र प्रति उत्सुकता अझ बढेको छ ।
मनाङको मनोरम दृश्य अनि आदिम समयको अनुभव गराउने भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा लगायत फिचर्ड छन् । गीतमा सबै कलाकारलाई निकै फरक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहत राजले नृत्य निर्देशन गरेका हुन् । आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।