यो शुक्रवार नेपाली हलमा आशा गरिएका दुई चलचित्र प्रदर्शनमा आएका छन् । लामो समय सुनसान रहेको नेपाली चलचित्रको बजारमा केही रौनक थप्दै आस गरिएका चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा आएका हुन् । नेपाली हलमा विदेशी फिल्मले एकछत्र रजाइ गरिरहेको बेला प्रदर्शनमा आएका चलचित्रलाई दर्शकले प्रतीक्षा गरिरहेका छन् । विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको ‘सेल्फी किङ’मा विपिन कार्की मुख्य भूमिकामा छन् । बुधवार भएको प्रिमियरमा चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ । चलचित्रमा उनले एक हास्य कलाकारको भूमिका निभाएका छन् । क्युएफएक्सले चलचित्रलाई ३५ सो दिएको छ ।
विशाल सापकोटाले निर्देशन गरेको चलचित्रलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् । यसमा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ ।यसै गरी विराज भट्टको कम ब्याक चलचित्र ‘साङ्लो’लाई क्युएफएक्सले २० सो दिएको छ । यस चलचित्रले मल्टीप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । विराज स्वयंले निर्देशन गरेको चलचित्रमा उनको जोडीको रूपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । यसले मिर्गौला तस्करीको कथा भन्छ ।