अभिनेत्री आँचल शर्मा यही फागुनमा वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनले प्रेमी उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । फागुन अन्तिम साता उनको विवाह हुने भनिए पनि मिति भने सार्वजनिक गरिएको छैन । विवाह मिति मात्र होइन उनको इन्गेजमेन्ट मिति पनि सार्वजनिक भएको छैन । आँचललाई समेत आफ्नो इन्गेजमेन्ट मिति थाहा छैन । उनका हुनेवाला पति र परिवारले आँचललाई सर्प्राइज दिनको लागी मिति गोप्य राखिएको उनी बताउँछिन् । उनी भन्छिन्, 'उदीपजी र मेरो घरमा भने सल्लाह भइसकेको छ । उहाँहरूले मिति पनि पक्का गरिसक्नु भएको होला । तर, मलाई भन्नुभएको छैन । सर्प्राइज दिने भन्दै सुनाउनु भएको छैन । त्यो सर्प्राइजको लागि म पनि उत्साहित नै छु ।'
आँचलले विवाह मिति इन्गेजमेन्टको दिन तोकिने बताएकी छिन् । चिना हेराउँदा केही कुरा नमिलेपछि मिति नतोकिएको र उपयुक्त मिति जुराएर इन्गेजमेन्टमा सार्वजनिक गरिने उनको भनाइ छ । केही समय यता प्रेममा रहेका आँचल र उदीप तथा उनीहरूको परिवार विवाहका लागी निकै उत्साहित भएको आँचल बताउँछिन् ।