११ औँ राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ । शैली थिएटरको आयोजनामा माघ २२ गतेबाट काठमाडौँको रसियन कल्चर सेन्टरमा महोत्सव सुरु भएको हो । झन्डै चार सय विद्यालयका विद्यार्थीहरू सहभागी हुने महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटर कै आफ्नै अप्रतियोगी नाटक मञ्चन हुने छन् । माघ २९ गतेसम्म चल्ने महोत्सवको उद्घाटनमा  शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन गरिएको थियो । महोत्सवमा सहभागी भएका नाटक मध्ये उत्कृष्ट नाटकलाई पुरस्कृत गरिने संयोजक सुवास सुवेदीले बताए । उनका अनुसार हरेक प्रतिस्पर्धी नाटकलाई निर्णायकको टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी माघ २९ गते समापनको दिन ६ वटा पुरस्कारहरू दिइने छ । उत्कृष्ट अभिनय गर्ने दुई जनालाई १० हजार दिइने छ भने उत्कृष्ट निर्देशक र उत्कृष्ट नाटकलाई ७ हजार पुरस्कार दिइने छ । प्रोत्साहन पुरस्कार र पब्लिक च्वाईस् पुरस्कार स्वरूप दुई जनालाई ५ हजार दिइने छ । साथै सहभागी सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरिने सुवेदीले बताए । महोत्सवमा सहभागी हुनका लागी ३ दर्जन आवेदन परका थिए जसबाट उत्कृष्ट १६ छनौटमा परेका हुन् । महोत्सव विगत १० वर्षदेखि आयोजना हुँदै आएको छ ।