शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'सेल्फी किंङ' लाई दर्शकले मन पराइरहेका छन् । बुधवार गरिएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । विपिन कार्की स्टारर चलचित्रको व्यापारिक हिसाबले त्यति उत्साहजनक सफलता हात नपारे पनि दर्शकले यसको कथा र अभिनेता विपिनको अभिनय मन पराएका छन् । शनिबार चलचित्रको तर्फबाट कलाकार र निर्देशकको टोली दर्शकको प्रतिक्रिया लिन हलहरूमा पुग्दा दर्शकले चलचित्र फरक र राम्रो भएको प्रतिक्रिया दिएका छन् । दर्शकले चलचित्र कमेडी जनरामा बनेको सोचेर हेर्न आए पनि चलचित्र बिलकुल फरक रहेको तर निराश नबनाउने प्रतिक्रिया पनि दिए । धेरै पछि राम्रो र फरक स्वादको चलचित्र हेर्न पाएको दर्शकको भनाइ छ । अभिनेता विपिनले पनि आफूले चलचित्रलाई लिएर निकै सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् ।

आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’को जीवनमा आउने उतार-चढावको कथा चलचित्रले बोकेको छ । एउटा कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई समेटिएको चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।