विगत तीन महिनादेखि नेपाली हल बन्द जस्तै भएको थियो । मल्टिप्लेकसमा त विदेशी चलचित्रले राज गरिरहेकै थिए तर सिङ्गल थिएटर भने निकै मारमा परेका थिए । यो सुनसानलाई केही पन्छ्याउँदै एक्सन स्टारको रूपमा स्थापित नायक विराज भट्टको चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आएको छ । प्रदर्शनको दोस्रो दिनमा निर्देशक नायक विराज भट्ट, नायिका निकिता चाण्डक र टिम हलमा पुगेका छन् । विराज हलमा पुग्दा दर्शकको छिचोली नसक्नु को भिडले 'बाघ' भन्दै सम्बोधन गरेका थिए ।
सिङ्गल थिएटरमा चलचित्र हेर्ने दर्शकको चाप हेर्न लायक नै छ । चलचित्र हेरेका दर्शकले चलचित्र राम्रो बनेको र आफूलाई मन परेको बताएका छन् । दर्शकको यस्तो माया देखेर विराज र निकिता निकै उत्साहित बनेका छन् । आफूले पाएको यो मायाले फेरी पनि आफू सफल भएको अनुभव भएको विराज बताउँछन् ।
उनले दर्शकले यसरी नै माया गरे ‘साङ्लो’को सिक्वेल पनि बन्न सक्ने र केही गरी सिक्वेल नबने अरू चलचित्र पक्कै बनाउने सुनाएका छन् ।यसै गरी आफूले डेब्यु गरेको चलचित्रबाट पाएको माया मिस नेपाल हुँदा पाएको माया भन्दा ठुलो भएको पूर्व मिस नेपाल निकिता बताउँछिन् । चलचित्रले मिर्गौला तस्करीको कथा भन्छ ।