शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’ले सुखद व्यापार गरिरहेको छ । विराज भट्टको मुख्य अभिनय रहेको चलचित्रको शुक्रवार र शनिवारको व्यापार उत्साहजनक रहेको बताइएको छ । शुक्रवार ५५ प्रतिशत अकुपेन्सी पाएको चलचित्रले शनिवार दिउँसोसम्म शत प्रतिशत अकुपेन्सी हात पारेको छ । शनिवार सिंगल स्क्रिनमा ८० प्रतिशत अकुपेन्सीका साथ  ओपनिङ गरेको थियो भने शत प्रतिशत सम्म पुगेको वितरक गोपाल कायस्थले बताएका छन् । राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण हल मा दर्शकको चाप धेरै थियो ।

देश बाहिर पनि राम्रो अकुपेन्सी पाएको बुझिएको छ । दर्शकले दिएको यो साथ देखेर अभिनेता विराज निकै उत्साहित भएका छन् । लामो समयपछि दर्शक माझ आउँदा यतिको स्वागत होला भन्ने आफूले नसोचेको उनी बताउँछन् । उनी दर्शकलाई आभार प्रकट गर्दै खुसी देखिन्छन् । चलचित्रको एक्सनलाई सर्वाधिक रुचाइएको छ ।