चलचित्र ‘कबड्डी’ बाट मैयाँको नामले चर्चित नायिका रेश्मा गुरुङ वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रामबाबु गुरुङ निर्देशित यसै चलचित्रले चर्चाको शिखरमा पुगेकी रेश्माले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । रेश्माले चलचित्र कर्मी र यस सम्बन्धी कसैलाई पनि विवाहमा बोलाएकी थिइनन् । पछिल्लो पटक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरेकी थिइन् यसमा उनको सानो भूमिका थियो । उनले विवाह गरेसँगै अभिनय यात्रा छोड्ने बुझिएको छ ।

केही समय अघि उनले एक अन्तर्वार्तामा चलचित्र क्षेत्र सोचे जस्तो नभएको र एउटा उचाइमा पुगेपछि कलाको दुरुपयोग हुने बताएकी थिइन् । आफूलाई कम्पर्माइज गरेर अगाडी बढ्नु भन्दा यो काम नै नगर्नु ठिक लागेको पनि उनले सुनाएकी थिइन् । उनले कबड्डी सिरिजको चौथो भागमा काम गरेपछि यस क्षेत्रलाई बिट मार्ने बुझिएको छ ।