चलचित्र 'म यस्तो गीत गाउँछु २'को ट्रेलर केही दिन अघि सार्वजनिक भयो । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ । चलचित्र एक म्युजिकल लभ स्टोरी रहेको र यसको कथा बस्तु बलिउड चलचित्र 'आशिकी २' सँग मेल खाने भन्दै यसको टिका टिप्पणी भइरहेको छ । युट्युबमा सार्वजनिक ट्रेलरमा समेत चलचित्र 'आशिकी २'को कपी भएको कमेन्ट आइरहेको छ । यस विषयमा बोल्दै चलचित्रका निर्देशक सुदर्शन थापा भने चलचित्र कतैबाट कपी नगरिएको दाबी गर्छन् । उनलाई साथ दिँदै अभिनेत्री पूजा शर्माले पनि चलचित्र कतैबाट पनि कपी नगरिएको र करोडौँ खर्च गरेर निर्माण गरिएको चलचित्र निर्माण गर्दा त्यति कुरा राम्रो सँग ख्याल गरिने भनेकी छिन् । उनले सुदर्शनको फेसबुक स्ट्याटस सेयर गर्दै 'म्युजिकल फिल्म सबैलाई ‘आशिकी २’ भनेर चर्चा गर्नु वा भीएफएक्सले भरिएका सिनेमालाई ‘बाहुवली’ जस्तै भनेर परिभाषित गर्नु हतारो मात्र होला' भनेकी छिन् ।

साथै चलचित्र हेरेपछि मात्र यसबारे टिका टिप्पणी गर्नु जायज हुने र ट्रेलरको भरमा चलचित्रलाई मूल्याङ्कन गर्नु जायज नभएको उनको भनाइ छ । निर्देशक थापाले आफ्नो चलचित्रको पछाडि ठुलो समूह नै लागेको र चलचित्र रिलिज भएपछि पछि लाग्ने हरूको मेख मर्ने आशय व्यक्त गरेका छन् ।  सुदर्शन थापा र पूजा निर्माण गरेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ । 'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।