गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
पछिल्लो समयका चर्चित अन स्क्रिन जोडी पूजा र आकाशको आगामी चलचित्र 'सम्झना बिर्सना' को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि आगामी जेठ २ लाई तय गरिएको हो । दर्शकले निकै रुचाएको यो जोडिलाई नै पोस्टरमा स्थान दिइएको छ । जसमा पूजा घोडाका चढेकी छिन् भने उनी लजाएकी छिन् । पूजालाई आकाशले प्रेमले हेरेका छन् ।
चलचित्र ‘प्रेमगीत ३’ को विदेश राइट्स बिक्री भएको छ । चलचित्र उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूमा प्रदर्शनको लागी ग्लोबल नेपाली अवार्डले अधिकार किनेको हो । चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले ग्लोबल नेपाली अवार्ड प्रमुख नवराज श्रेष्ठसँग चलचित्रको लागी ४९ लाख ९९ हजार ९ सय ९९ मा सम्झौता गरेको बताएका छन् ।
चलचित्र ‘कबड्डी’ बाट मैयाँको नामले चर्चित नायिका रिश्मा गुरुङ वैवाहिक बन्धनमा बाँधिएकी छिन् । रामबाबु गुरुङ निर्देशित यसै चलचित्रले चर्चाको शिखरमा पुगेकी रिश्माले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह मिति पक्का भएको छ । उनीहरूले यही फागुन १५ गते विवाह गर्न लागेका हुन् । प्रियंकाले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै मिति सार्वजनिक गरेका हुन् । यति बेला प्रियंका आयुष्मान विवाहको तयारीमा जुटिसकेका छन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले टिका टालो गरेको लामी समयपछि विवाह गर्न लागेका हुन् ।
चलचित्र 'म यस्तो गीत गाउँछु २' को ट्रेलर सार्वजनिक भएको छ । पल शाह र पूजा शर्मा स्टारर प्रतीक्षित चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र ट्रेलर राजधानीमा क कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । फागुन ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरमा पल र पूजाको लभ स्टोरी र रोमान्स देखाइएको छ ।
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय भएको छ । अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र अब आगामी वर्षको दसैँमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्र २०७७ को कार्तिक ७ गते रिलिज हुने पक्का भएको जानकारी सार्वजनिक गरेको छ । तेस्रो शृङ्खलामा निकै रुचाइएका जोडी अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ ।
चलचित्र ‘सेन्टी भाइरस’ टिमले चलचित्र पत्रकारसँग च्यारिटी क्रिकेट म्याच खेलेको छ । यही फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आयोजनामा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको नमुना मैदानमा आज म्याच सम्पन्न भएको हो । दुई टिम बिच भएको टि-ट्वान्टी म्याचमा कलाकार टिमले ब्याटिङ गर्दै खेलको सुरुवात भएको थियो । भने जित पत्रकारको पोल्टामा परेको छ ।
सिताराम कट्टेल र कुन्जना घिमिरेलाई धुर्मुस सुन्तली बनाएको टेलिशृङ्खला 'मेरी बास्सै' मा फेरी यो जोडीलाई देखिने भएको छ । लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति मेरी बास्सैमा देख्न पाउने भएका हुन् । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै सम्म पुगेका हुन् ।