गत मङ्सिर २९ गते चलचित्र कर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियो । हृदय घातका कारण मृत्यु भएका उनको परिवार बिछोडको पिडाबाट अझै बाहिरिन सकेको छैन । सक्नु पनि कसरी एकातिर आफ्नो घरको मुख्य सदस्य गुमाउनुको पिडा अर्को तिर उनले सम्हालेको आर्थिक भारको पिडा । उनका एक छोरा छन् ती पनि बालक नै छन् । बाबुको हात समातेर खेल्ने र स्कुल जाने उमेरमा यो शोक पर्नु र सहनु त्यति सजिलो छैन । उनकी श्रीमतीको लागी त झन् कतिसम्म पिडा परिरहेको होला त्यो सोच्दा पनि मन अमिलो हुन्छ । भट्टराईको परिवारले मात्र आफ्नो अभिभावक गुमाएको भने पक्कै होइन सिङ्गो नेपाली फिल्म इन्डस्ट्रीले एउटा असल नेतृत्व गुमायो । उनको परिवारको आर्थीक असहजता र पिडालाई मल्हम लगाउन केही चलचित्र कर्मीले आफ्नो तर्फबाट सहयोग गरेका छन् । यसै बिच कलाकार तथा निर्माता दीपक राज गिरीले आफ्नो टिमले भट्टराई परिवारलाई रु १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

दीपकले फेसबुकमा 'स्वर्गीय कलाकार तथा निर्माता केशव भट्टराईज्यूको मृत्यु पश्चात् उहाँको परिवारले खेप्नु परेको आर्थिक अभाव टीठ लाग्दो रहेको सुन्दा दुख लागेको छ अतः यो पिडालाई सम्झेर हाम्रो तर्फबाट रु १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेका छौ । साथै अन्य चलचित्र कर्मीहरूलाई पनि सहयोगको लागि आव्हान गर्दछौ!!!' लेखेका छन् । योसँगै प्रदर्शनको तयारीमा रहेको चलचित्र 'आमा'ले पनि भट्टराई परिवारलाई नगद रु एक लाख सहयोग गरेको छ । नेपाली चलचित्रको क्षेत्रलाई माथि उठाउन आजीवन लागिपरेका स्वर्गीय भट्टराईको परिवारमा परेको पिडालाई आत्मसाथ गर्दै सम्पूर्ण नेपाली फिल्म इन्डस्ट्रीका सुन्दर मनहरू एकजुट हुने हो भने पिडा केही कम अवश्य हुनेछ ।