नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निम्फ)को चौथो दिन अभिनेता राजेश हमालले आफ्नो कथा सुनाएका छन् । आफ्नो कथा सुनाउने क्रममा हमालले आफ्नो फिल्मी यात्रासँगै आफ्नो परिवारसँगको कुराहरू सुनाएका छन् । उनले आफ्नो खासै खुल्ने स्वभाव नभएकोले आफ्नो परिवारको बारेमा निकै कमलाई थाहा भएको सुनाएका छन् । कार्यक्रममा भने उनले आफ्नो करियरको सुरुवात र परिवारका बारेका खुलेर सुनाए । उनले आफ्नो परिवारको बारेमा सुनाउँदै , ‘बुवाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि पढ्नुभएको थियो । बनारसमै उहाँहरूको प्रेम भयो र पछि विवाह भयो’ । 'बुवा र म बिच भिन्नता थियो अनि उल्टो तालमेल – म चाहिँ जहिल्यै जवान बन्न खोज्छु । मेरो बुबा चाहिँ पाको देखिन खोज्नुहुन्थ्यो' उनी सुनिए । परिवार शिक्षित भएकाले राजेशले राम्रो शिक्षा पाए विडम्बना उनले फिल्म क्षेत्रलाई करियर बनाउन सोचेपछि उनले परिवारको साथ पाएनन् । घरमा उनलाई सबैले अरू नै काम गर्न सुझाएका थिए । त्यति बेला फिल्म गरेर बाँच्न सकिने कुरा कसैले सोच्न सक्दैन थिए ।
फिल्ममा लागेपछि परिवारसँग केही टाढिएका उनले बुवालाई अन्तिम पटक बिदा गर्न पाएनन् । पाकिस्तान पोस्टिङ भएका बेला बुवाको उतै निधन भयो । चलचित्रलाई नै आफ्नो जीवन बनाएका हमाललाई ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति चलचित्रमा अभिनय गरे पनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनले सुनाए, ‘म जति बेला फिल्ममा आएँ त्यति बेलासम्म मुस्किलले दर्जन फिल्म बनेका थिए । तर, पहिलो फिल्म रिलिज भएपछि मैले त्यसयताका १२ वर्ष लगातार १२ देखि १४ घण्टासम्म काम गरेँ, राजेशले भने, ‘यो क्रममा मैले मात्र काम गरिनँ, सँगै अन्य कलाकार र प्राविधिकले पनि काम गरे । मेरो प्रवेशपछि अरू त नभनौँ मिनी रिभोल्युसन त भयो नै ।’ उनले थपे ' 'जब तपाईँसँग छनोटको अवसर हुन्छ तब तपाईँले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हतोत्साहित गर्नु सही थिएन ।'
विगत ३ वर्ष यता पर्दामा नदेखिएका उनले नयाँ शैलीमा आउन चाहेकाले बिचको समयमा अध्ययन गरिरहेको बताए । उनले अभिनय गर्ने धोको नपुगेको र चलचित्र निर्देशन गर्ने तयारी समेत गरिरहेको उनले सुनाए ।