नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निम्फ)को चौथो दिन आइतबार अभिनेता राजेश हमालले आफ्नो कथा सुनाए । कथा सुनाउने क्रममा उनले आफ्नो अभिनय यात्राका बारेमा मात्र बताएनन् परिवार र आगामी योजनाका बारेमा पनि केही कुरा सुनाए । यसै बिच उनले ३० वर्ष भन्दा बढी अभिनय र चलचित्रको नजिक रहेर बिताए पनि आफूलाई अभिनय गर्ने धोको नपुगेको बताएका छन् । विगत ३ वर्ष यता चलचित्रमा नदेखिएका उनले नयाँ शैलीमा आउन चाहेकाले बिचको समयमा अध्ययन गरिरहेको बताए । साथमा आफ्नो अभिनय गर्ने धोको अझै नपुगेको पनि सुनाउन भ्याए । उनले अब दर्शकमाझ आफ्नो आगमन नयाँ तरिकाले गर्ने योजना बारे खुल्दै चलचित्र निर्देशन गर्ने तयारी समेत गरिरहेको उनले सुनाउन भ्याए ।

'युगदेखी युगसम्म' को सिक्वेल बनाउँदै राजेश हमाल ?

चलचित्रको निर्देशनको लागी तयारी गरिरहेको कुरा सार्वजनिक गरेको एक दिन नबित्दै हमालले इन्स्टाग्राममा एक तस्बिर साझेदारी गरेका छन् जसले उनी निर्देशनमा हात हाल्न लागेको अनुमान सजिलै गर्न सकिन्छ । उनले आफ्नो सफल र मुख्य भूमिका निभाएको पहिलो चलचित्र 'युगदेखी युगसम्म' को सिक्वेल बनाउन आँटेको छनक दिने तस्बिर राखेका छन् । उनले 'युगदेखी युगसम्म २' भनि आफ्नो टप लेस फोटो राखेका छन् जसमा उनको जमानाको हिरो पन देखिन्छ । पछिल्लो समय सफल र ब्रान्ड बनेका चलचित्रको सिक्वेल बनाउने होड चलिरहेका बेला हमाल पनि आफ्नो पहिलो र सफल चलचित्रको सिक्वेलबाट निर्देशनमा हात हाल्न लागेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।