सोमवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को समापन गरियो । फेस्टिभलको अन्तिम दिन उत्कृष्ट चलचित्रलाई सम्मान गरियो । महोत्सवमा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गर्‍यो । बुलबुलले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, आकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जित्न सफल भयो । विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड, स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुसाल र लक्ष्मी बर्देवाले हात पारे । यसै गरी चलचित्र ‘गोपी’ले तीन अवार्ड हात पार्न सफल भयो । यस चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड, बिपिन कार्कीले उत्कृष्ट अभिनेता र छायाकार शैलेन्द्र डी कार्कीको छायाङ्कनको अवार्ड उचाले । नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ता उत्कृष्ट ठहरियो ।

इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पायो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ले जित्यो । ‘कलम’का निर्देशक राउतले आकृष्ट निर्देशकको उपाधि पाए । यसै गरी श्रीलङ्काको ‘दि अदर हाफ’ले सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड हात पार्‍यो ।  डकुमेन्ट्री विधातर्फ गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ उत्कृष्ट ठहरियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ । एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफ दि ड्रइङ गर्ल’लाई दिइयो भने अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट रह्यो । सर्वाधिक पुरस्कार राशि भएको  गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो ।