सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएको छ । गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रको आइतबार इन्ड्क्ल्याप कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रको टिम सहित सञ्चार कर्मी रवि लामिछाने पनि उपस्थित थिए । लामिछाने कलाकार पनि हुन् उनले गाईजात्रामा हास्य प्रहसन, टेलिसिरियलमा अभिनय र नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शोको सञ्चालन पनि गरिसकेका छन् । ‘माइकल अधिकारी’ को प्रमोसन कार्यक्रममा पुगेका रवि ले  चलचित्रको टिशर्ट नै लगाएर चलचित्रको बारेमा बोले । उनले चलचित्र हरिदिनु भन्दै रडाको गरिरहनु नपर्ने समेत बताए । ‘माइकल अधिकारी’ रविका ससुरालीले निर्माण गरेको चलचित्र हो ।

यस चलचित्र निर्माण सुरु हुँदै रविले पनि अभिनय गरेको चर्चा चलेको थियो तर निर्माण पक्षले यसको बारे केही बोलेको थिएन । यति बेला चलचित्रको प्रचार प्रसारमा रवि सहभागी भएको हेर्दा उनको पनि अभिनय हुन सक्ने अनुमान गर्न सकिन्छ । स्रोतका अनुसार उनले चलचित्रमा अतिथि भूमिका निभाएका छन् । गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । आगामी चैत्र २८ गते प्रदर्शन मिति तय गरिएको चलचित्रका निर्माता निरक पौडेल हुन् भने निर्देशनको जिम्मा रञ्जित रौनियारले लिएका छन् । यस चलचित्रमा अहिले सम्मकै भिन्न अभिनय रहेको अभिनेता सौगात मल्लले बताएका छन् ।